समाचार
अब म्युजिकल फाउन्टेनसहितको रानीपोखरी यस्तो बन्दैछ
काठमाडौं महानगरपालिकाले रानीपोखरीलाई पुर्ननिर्माण गर्दै यसको स्वरुपमा समेत परिवर्तन ल्याउन लागेको छ।
म्युजिकल फाउन्टेन सहितको रानीपोखरी अव प्रत्येक दिन सर्वसाधारणको लागि खुला गर्ने महानगरको तयारी छ। काठमाडौं महानगरपालिकाको भौतिक योजना तथा भवन निर्माण बिभाग प्रमुख उत्तरकुमार रेग्मीका अनुसार महानगरपालिकाले रानीपोखरीको पुननिर्माण कार्यलाई अघि बढाएको छ।

फाउन्टेन र विभिन्न करिडोरको साथै हरीयाली बनाइएको रानी पोखरीको डिजाइन तयार भइसकेको भए पनि पुरातत्व बिभागले हालसम्म निर्माण कार्य थालनी गर्नको लागि अनुमति भने दिएको छैन। पुरातत्व विभागले अनुमति दिनेबित्तिकै निर्माण कार्य थालनी हुने रेग्मीले जानकारी दिए।
१० करोड लागतमा रानीपोखरीको पुर्नर्मिाण गर्न लागिएको छ। रत्नपार्कमा बोरिङ गरेर पानी निकाल्ने र बेलुकाको समयमा म्युजिकल फाउन्टेन चलाउने महानगरको तयारी छ। दैनिक ३ हजार जना रानीपोखरीमा भिजिटर आउने भौतिक योजना तथा भवन निर्माण बिभाग प्रमुख रेग्मीको आँकलन रहेको छ।

भूकम्पको कारण क्षती पुगेको रानीपोखरीको मन्दिर पनि महानगरले पुन निर्माण गर्ने भएको छ। साथै यसको लागि १ करोड बराबरको रकम समेत महानगरले छुट्याएको छ।
गत वर्ष सम्पन्न भएको सार्क सिखर सम्मेलनको समयमा तीन करोडको लगानीमा फाउन्टेन निर्माण गरिएको भए पनि फाउन्टेन भने दैनिक रुपमा हालसम्म सञ्चालन हुन सकेको छैन। अब भने बेलुकापख प्रत्येक दिन म्युजिकल फाउन्टेन सञ्चालनमा ल्याउने महानगरको योजना छ।

साथै शान्तीबाटिका र रत्नपार्कलाई जोड्ने महागरपालिकाको योजना रहेको भौतिक योजना तथा भवन निर्माण बिभाग प्रमुख रेग्मीले जानकारी दिए। रत्नपार्क र शान्तीबाटिकाबीचको बाटोलाई बन्द गरेर त्यहाँ टेबल टेनिस र बास्केटबलको कोर्ट बनाउने महानगरको योजना छ।

रानीपोखरी पुर्ननिर्माणको लागि महानगरपालिकाले २ करोड ५० लाख रकम जुटाईसकेको छ। नेपाल सरकारको जगेडा कोषबाट १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने भएको छ भने १ करोड महानगरपालिका आफैले रानी पोखरीको मन्दिर निर्माणका लागि भनेर छुट्टाएको हो।

खुलामञ्चको घाँसे मैदानमा टायल बिच्छाउने महानगरको योजना रहेको रेग्मीले बताए। रङ्गीन टायलहरु बिच्छाएर उक्त क्षेत्र आकर्षक बनाउने डिजाइनमा समाबेश छ।
बि सं १६७० मा प्रताप मल्लले आफ्नो रानीलाई खुसी पार्नको लागि रानी पोखरीको निर्माण गरेका थिए। प्रताप मल्लको छोरालाई हात्तिले किल्चदा मृत्यु भएपछि रानीको उक्त दःुख भुलाउन उनले सो पोखरीको निर्माण गरेका हुन्।

लामो समयसम्म मर्मत सम्भार नपाएको रानी पोखरीको मुहार नै परिवर्तन गर्नेगरि महानगरपालिकाले काम अघि सारेको छ। निर्माणपछि रानीपोखरी सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने अथवा आफै सञ्चालन गर्ने भन्ने बारेमा भने महानगरपालिकाले हालसम्म कुनै निर्णय गरेको छैन।

‘निर्माण सम्पन्न पश्चात हामीले आफै सञ्चालन गर्ने वा अरुलाई दिने भनेर निर्णय गर्नेछौँ, अहिले हामी यसको निर्माण प्रक्रिया अघि बढाउनेमा मात्रै प्रयासरत छौँ’ रेग्मीले भने। रानीपोखरी पुर्ननिर्माणको समयमा महानगरापालिकाले पोखरी समेत सफा गर्ने भएको छ।

पुष १० गतेतिर रानीपोखरी पुन निर्माणको लागि बोलपत्र आह्वान गर्ने महानगरपालिकाको तयारी छ। आगामी वर्षको दिपावलीमा म्युजिकल फाउन्टेन सहितको रानीपोखरीको उदघटन हुन रेग्मीले जानकारी दिएका छन्।